मेलाौलीमा दलित लक्षित आयआर्जन कार्यक्रम अन्तर्गत आधुनिक प्रविधि हस्तान्तरण

बैतडी-बैतडीको मेलाौली नगरपालिकाले दलित समुदायको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवद्र्धन तथा परम्परागत पेशालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरेको दलित लक्षित आयआर्जन कार्यक्रम अन्तर्गत लागत साझेदारीमा आधुनिक प्रविधि तथा व्यवसायिक उपकरण हस्तान्तरण गरेको छ।

नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख भीमबहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत २५ जना सिलाई व्यवसायी र २५ जना आरन (फलामे) व्यवसायी गरी कुल ५० जना उद्यमीलाई उनीहरूको व्यवसायलाई थप प्रभावकारी, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन आवश्यक आधुनिक प्रविधि तथा उपकरण हस्तान्तरण गरिएको हो।नगरपालिकाले यस्ता उपकरणले स्थानीय उद्यमको विकाससँगै रोजगारी सिर्जना र आय आर्जनमा टेवा पुग्ने अपेक्षा गरेको छ।

लघु उद्यम विकास सहजकर्ता सुरेन्द्र ओडका अनुसार उपकरण वितरणअघि लाभग्राहीहरूलाई ५ दिने उद्यमशीलता विकास तथा व्यवसाय सुधार तालिम प्रदान गरिएको थियो। तालिममा व्यवसाय सञ्चालन, वित्तीय व्यवस्थापन, ग्राहक सेवा, बजार व्यवस्थापन तथा उद्यम विस्तारका विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको उनले जानकारी दिए। तालिमपछि मात्र व्यवसाय सञ्चालनमा सहजता ल्याउने उद्देश्यले आवश्यक प्रविधि तथा उपकरण हस्तान्तरण गरिएको उनको भनाइ छ।

कार्यक्रममा नगर प्रमुख भीमबहादुर चन्दले सीप, तालिम र आधुनिक प्रविधिको सही उपयोग गर्न सके स्थानीय स्तरमै आत्मनिर्भर बन्न सकिने बताए। उनले नगरपालिकाले सञ्चालन गरेका आयआर्जनमुखी कार्यक्रमबाट वास्तविक लाभ लिन सहभागीहरूलाई प्राप्त उपकरणको सदुपयोग गर्दै व्यवसायलाई निरन्तर विस्तार गर्न आग्रह गरे।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले नगरपालिकाले सीप विकाससँगै उद्यमीलाई आवश्यक प्रविधि उपलब्ध गराउने नीति अवलम्बन गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले दलित समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मेलाौली नगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोग गर्दै स्वरोजगार सिर्जना, गरिबी न्यूनीकरण र उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.