बैतडी– बैतडीको पाटन नगरपालिका–१, बाटुलासौमा जन्मिएका डा.भीम चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाको रजिष्ट्रारमा नियुक्त भएका छन्।
बुधबार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले डा.चन्दलाई विश्वविद्यालयको रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।
अस्पताल व्यवस्थापन ((Hospital Management)) विषयमा विद्यावारिधि गरेका डा। चन्द स्वास्थ्य प्रशासन र संस्थागत व्यवस्थापनका अनुभवी व्यक्तित्व हुन्। उनले काठमाडौं मेडिकल कलेजमा १६ वर्ष प्रशासन, लेखा तथा व्यवस्थापन क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यसपछि पछिल्ला १२ वर्षदेखि पिपुल्स डेन्टल कलेजमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएका थिए।
डा। चन्दले गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना, पूर्वाधार विकास र संस्थागत संरचना निर्माणका विभिन्न चरणमा सक्रिय योगदान दिएका थिए। उनी यसअघि विश्वविद्यालयको कार्यकारी परिषद्का सदस्य समेत रहिसकेका छन्।
स्वास्थ्य शिक्षा, प्रशासनिक दक्षता र संस्थागत विकासमा लामो अनुभव भएका डा.चन्दको नियुक्तिसँगै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।