मणिलेक बहुमुखी क्याम्पसका कार्यालय सहयोगी प्रताप सिंह ओझाको विदाइ

बैतडी– बैतडीको मेलौली स्थित मणिलेक बहुमुखी क्याम्पसमा स्थापनाकाल देखि कार्यालय सहयोगीका रूपमा कार्यरत प्रताप सिंह ओझाको विदाइ गरिएको छ ।

क्याम्पस स्थापनाको वर्ष २०६६ देखि २०८३ साल भदौ १५ गतेसम्म कार्यालय सहयोगी पदमा कार्यरत ओझालाई क्याम्पसले विदाइ गरेको हो ।लामो समयसम्म क्याम्पसको प्रशासनिक तथा दैनिक कार्यसम्पादनमा सहयोग पुर्‍याउनुभएका ओझालाई क्याम्पस परिवारले सम्मानपूर्वक विदाइ गरेको क्याम्पस प्रमुख डा.भगिरथ सिंह नेगीले बताए ।

क्याम्पस प्रमुख नेगीका अनुसार ओझा आफ्नो जिम्मेवारीप्रति कुशल, कर्तव्यनिष्ठ, इमानदार र लगनशील कर्मचारीका रूपमा कार्यरत रहनुभएको थियो । क्याम्पसको स्थापनाकालदेखि नै संस्थाको विकास र नियमित सञ्चालनमा उहाँले पुर्‍याउनुभएको योगदान महत्वपूर्ण रहेको नेगीले बताए ।

विदाइ कार्यक्रममा क्याम्पस परिवारले ओझाले लामो समयसम्म संस्थाप्रति देखाउनुभएको निष्ठा, इमानदारी र सेवाभावको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेको थियो ।

क्याम्पसमा लामो समय सेवा गर्नुभएका ओझाले आफूले संस्थामा काम गर्दा क्याम्पस परिवारबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.