वि.पि कोइरालाको ११३औँ जन्मजयन्ती : लोकतन्त्र र जनताको जिजीविषा

नेपालको लोकतान्त्रिक अभ्यासमा विभिन्न उतारचढाव देखिन्छन । विभिन्न पात्रहरुको भूमिका पनि देखिन्छ , जसमध्ये वि पि कोइराला पनि एक सशक्त लोकतान्त्रिक योद्धा हुन । नेपाली राजनीतिक इतिहासमा केही यस्ता व्यक्तित्व हुन्छन्, जसको जीवन एउटा कालखण्डको इतिहास मात्र हुँदैन, बरु भावी पुस्तालाई बाटो देखाउने विचारको दीपशिखा बन्छ । विश्वेश्वरप्रसाद कोइराला अर्थात् वि।पि। कोइराला त्यस्तै युगद्रष्टा व्यक्तित्व हुनुहुन्छ । उहाँको ११३औँ जन्मजयन्ती मनाइरहँदा उहाँलाई सम्झनु भनेको विगतको एउटा राजनीतिक पात्रलाई सम्झनु मात्र होइन, लोकतन्त्र, राष्ट्रियता, समाजवाद र मानवीय स्वतन्त्रताका सम्बन्धमा उहाँले उठाएका गम्भीर प्रश्नहरूसँग वर्तमानलाई जोडेर हेर्नु पनि हो ।

‎वि।पि। कोइरालाको राजनीतिक दर्शनको केन्द्रमा मान्छे थियो । उहाँका लागि राजनीति सत्ता प्राप्त गर्ने माध्यम मात्र थिएनस नागरिकको सम्मान, स्वतन्त्रता, समान अवसर र सुखी जीवन सुनिश्चित गर्ने साधन थियो । उहाँले लोकतन्त्रलाई केवल निर्वाचन, सरकार गठन र सत्ता हस्तान्तरणको प्रक्रियामा सीमित गर्नुभएन । उहाँको लोकतन्त्रमा राजनीतिक स्वतन्त्रतासँगै आर्थिक न्याय, सामाजिक समानता र व्यक्तिको आत्मसम्मान जोडिएको थियो । त्यसैले उहाँको समाजवादमा राज्यको नियन्त्रणभन्दा पनि जनताको स्वतन्त्रता र सामाजिक न्यायबीच सन्तुलन खोज्ने प्रयास देखिन्छ ।

‎वि।पि।को दार्शनिक चिन्तनको एउटा महत्वपूर्ण पक्ष लोकतान्त्रिक समाजवाद हो । उहाँ पूँजीवादी शोषण र साम्यवादी अधिनायकवाद दुवैबाट सचेत हुनुहुन्थ्यो । मानिसको आर्थिक अवस्था सुधारिनुपर्छ, तर त्यसका नाममा उसको राजनीतिक र व्यक्तिगत स्वतन्त्रता खोसिनु हुँदैन भन्ने उहाँको मान्यता थियो । उहाँका विचारमा लोकतन्त्रबिनाको समाजवाद अधुरो हुन्छ र सामाजिक न्यायबिनाको लोकतन्त्र पनि अर्थहीन बन्न सक्छ। यही कारण वि।पि।को राजनीतिक दर्शन आज पनि नेपाली समाजमा बहसको विषय बनेको छ ।

‎उहाँको राष्ट्रियताको अवधारणा पनि गहिरो र विशिष्ट थियो । वि।पि।का लागि राष्ट्रियता केवल भूगोल, सीमा र नारामा सीमित विषय थिएन । राष्ट्रियता जनताको आत्मसम्मान, सार्वभौमिकता, स्वतन्त्र निर्णय क्षमता र राष्ट्रको स्वाभिमानसँग जोडिएको थियो । उहाँले राष्ट्रियता र लोकतन्त्रलाई एकअर्काका विरोधी होइन, परिपूरक शक्तिका रूपमा हेर्नुभयो । जनतालाई कमजोर बनाएर राष्ट्र बलियो बन्न सक्दैन भन्ने उहाँको चिन्तन आजको नेपालको सन्दर्भमा झन् अर्थपूर्ण देखिन्छ ।

‎वि।पि।को योगदान राजनीतिक आन्दोलनमा मात्र सीमित थिएन । उहाँ नेपालमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता हुनुहुन्थ्यो । २००७ सालको परिवर्तनका लागि भएको संघर्षमा उहाँको महत्वपूर्ण भूमिका रह्यो । राणा शासनको अन्त्यपछि स्थापित प्रजातान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने क्रममा उहाँले महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभयो । २०१५ सालको आमनिर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा पहिलो निर्वाचित सरकारको प्रधानमन्त्री बन्नुभएका वि।पि।ले छोटो अवधिमै राज्य सञ्चालनमा जनमुखी दृष्टिकोण प्रस्तुत गर्ने प्रयास गर्नुभयो ।

‎उहाँको शासनकालमा भूमिसुधार, प्रशासनिक सुधार, सामाजिक न्याय र विकासका विषयलाई प्राथमिकतामा राख्ने प्रयास भएको थियो । जनतालाई केन्द्रमा राखेर राज्य सञ्चालन गर्ने सोच उहाँको सरकारको मूल भाव थियो । तर राजनीतिक अस्थिरता, दरबार र निर्वाचित सरकारबीचको शक्ति संघर्ष तथा अन्ततः २०१७ सालमा भएको राजनीतिक ‘कू’ ले नेपालको लोकतान्त्रिक यात्रामा ठूलो अवरोध सिर्जना गर्‍यो ।

‎त्यसपछि वि।पि।ले जेल, निर्वासन र राजनीतिक संघर्षको कठिन बाटो रोज्नुपर्‍यो । तर कठिन परिस्थितिले उहाँको लोकतन्त्रप्रतिको विश्वास कमजोर बनाएन । बरु संघर्षका क्रममा उहाँको राजनीतिक दर्शन अझ परिपक्व हुँदै गयो । उहाँले बन्दुकभन्दा जनताको चेतना, अधिनायकवादभन्दा लोकतन्त्र र प्रतिशोधभन्दा राजनीतिक सहअस्तित्वलाई महत्व दिनुभयो । यही नै उहाँको व्यक्तित्वको विशिष्टता हो ।
‎वि।पि। राजनीतिक नेता मात्र नभई नेपाली साहित्यका पनि विशिष्ट स्रष्टा हुनुहुन्थ्यो । ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’ जस्ता कृतिमा उहाँले मानवीय मनोविज्ञान, प्रेम, सामाजिक सम्बन्ध, नैतिक द्वन्द्व र व्यक्तिको स्वतन्त्रतालाई कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ । राजनीतिमा उहाँले खोजेको स्वतन्त्रता र साहित्यमा उहाँले चित्रण गरेको मानवीय स्वतन्त्रताबीच गहिरो सम्बन्ध देखिन्छ । यस अर्थमा वि।पि।को साहित्यिक चेतना र राजनीतिक दर्शनलाई अलग–अलग गरेर बुझ्नु उहाँको समग्र व्यक्तित्वलाई अधुरो रूपमा बुझ्नु हो ।

‎वि।पि।को जीवनमा अर्को उल्लेखनीय पक्ष उहाँको आत्मविश्वास र विचारप्रतिको प्रतिबद्धता हो । सत्ता गुम्दा विचार गुमाउनु हुँदैन भन्ने सन्देश उहाँको राजनीतिक जीवनले दिन्छ । जेल र निर्वासनले उहाँलाई विचलित बनाएन । बरु कठिनाइबीच पनि उहाँले प्रजातन्त्रको पुनःस्थापनाको सपना देखिरहनुभयो । उहाँको जीवनले राजनीतिमा पदभन्दा विचार ठूलो हुन्छ र तत्कालीन पराजयभन्दा दीर्घकालीन राष्ट्रिय उद्देश्य महत्वपूर्ण हुन्छ भन्ने पाठ सिकाउँछ ।

‎आज हामी गणतान्त्रिक लोकतन्त्रको अभ्यासमा छौँ । संविधानले मौलिक अधिकार, राजनीतिक स्वतन्त्रता, समानता र सामाजिक न्यायका अनेक प्रबन्ध गरेको छ । तर संविधानमा लेखिएका अधिकार र नागरिकको वास्तविक जीवनबीच अझै दूरी छ । बेरोजगारी, गरिबी, भ्रष्टाचार, अवसरको असमानता, राजनीतिक अस्थिरता, सुशासनको कमजोरी र राज्यप्रतिको घट्दो विश्वासले लोकतन्त्रको गुणस्तरमाथि प्रश्न उठाइरहेका छन् ।
‎यही अवस्थामा वि।पि।को दर्शनलाई फेरि पढ्नुपर्ने आवश्यकता देखिन्छ । उहाँको लोकतन्त्रले हामीलाई सोध्छ—जनता साँच्चिकै राज्यका मालिक बनेका छन् त रु उहाँको समाजवादले प्रश्न गर्छ—आर्थिक विकासको प्रतिफल समाजको अन्तिम तहसम्म पुगेको छ त रु उहाँको राष्ट्रियताले सोध्छ—राष्ट्रको निर्णय क्षमता र स्वाभिमान सुरक्षित छ त रु र उहाँको साहित्यले सम्झाउँछ—राजनीतिक बहसको केन्द्रमा अन्ततः एउटा संवेदनशील मान्छे नै हुन्छ ।

‎आजको नेपाली राजनीतिले वि।पि।को नाम धेरै पटक उच्चारण गर्छ, तर उहाँको विचारलाई व्यवहारमा कति उतार्छ भन्ने प्रश्न अझ महत्वपूर्ण छ । जन्मजयन्तीका अवसरमा तस्वीरमा माला चढाउनु, भाषण गर्नु र उहाँको नाममा कार्यक्रम आयोजना गर्नु मात्र पर्याप्त हुँदैन । उहाँको विचारको वास्तविक सम्मान तब हुन्छ, जब राजनीतिमा नैतिकता, शासनमा पारदर्शिता, समाजमा समान अवसर र नागरिक जीवनमा स्वतन्त्रता स्थापित हुन्छ ।
‎जनताको जिजीविषा लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति हो । अनेक राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति, आर्थिक संकट र सामाजिक कठिनाइका बाबजुद नेपाली जनता भविष्यप्रतिको आशा बोकेर अघि बढिरहेका छन् । यही आशालाई राज्यले सम्मान गर्नुपर्छ । लोकतन्त्रले जनताको आवाज सुन्नुपर्छ, असन्तुष्टिलाई दमन होइन संवादबाट सम्बोधन गर्नुपर्छ र नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण दिनुपर्छ ।

‎वि।पि।को दर्शनको सबैभन्दा ठूलो सन्देश यही हो—राजनीतिक परिवर्तनको अन्तिम उद्देश्य जनताको जीवनमा परिवर्तन ल्याउनु हो । लोकतन्त्र जनताको जीवनमा अनुभूत भएन भने त्यो केवल राजनीतिक संरचना हुन्छ । आर्थिक न्यायबिनाको स्वतन्त्रता अपूर्ण हुन्छ र स्वतन्त्रताबिनाको समृद्धि पनि अर्थहीन हुन्छ । त्यसैले लोकतन्त्र र समाजवादको मानवीय सम्बन्धलाई वि।पि।ले जसरी व्याख्या गर्नुभयो, त्यसको सान्दर्भिकता आज पनि उत्तिकै बलियो छ ।
‎वि।पि। कोइरालाको ११३औँ जन्मजयन्ती केवल स्मरणको दिन नबनोस्, आत्मसमीक्षाको दिन बनोस् । राजनीतिक दलहरूले आफ्ना व्यवहारमा लोकतान्त्रिक संस्कार खोजून् । नेतृत्वले जनताको पीडा सुन्ने क्षमता विकास गरोस् । राज्यले अवसरबाट वञ्चित नागरिकलाई केन्द्रमा राखोस् । युवालाई स्वदेशमै भविष्य देख्ने वातावरण बनोस् । अनि मात्र वि।पि।ले कल्पना गरेको जनमुखी लोकतन्त्रको अर्थ सार्थक हुनेछ ।
‎वि।पि। कोइराला इतिहासमा बितिसक्नुभएको एउटा नाम होइन, नेपाली लोकतान्त्रिक चेतनामा जीवित एउटा विचार हुनुहुन्छ । जबसम्म नेपाली जनतामा स्वतन्त्रताको चाहना, सम्मानपूर्वक बाँच्ने आकांक्षा, सामाजिक न्यायको खोजी र समुन्नत भविष्यको जिजीविषा जीवित रहन्छ, तबसम्म वि।पि।को विचार पनि जीवित रहिरहनेछ ।
‎वि.पि. कोइरालाको ११३औँ जन्मजयन्तीमा हार्दिक श्रद्धासुमन ।
‎लोकतन्त्र बलियो बनोस् । जनता अधिकारसम्पन्न बनून् । सामाजिक न्याय स्थापित होस् । राष्ट्रिय स्वाभिमान उच्च रहोस् । अनि नेपालको लोकतान्त्रिक यात्रा जनताको सुख, शान्ति र समृद्धितर्फ अघि बढिरहोस् ।
देबेन्द्र दत्त भट्ट
‎                                                                                                                                                    बैतडी

Leave A Reply

Your email address will not be published.