मेलौलीमा स्थानीय उत्पादनलाई विद्यालयको दिवा खाजामा जोड्ने प्रतिबद्धता

बैतडी — बैतडीको मेलौली नगरपालिकामा स्थानीय उत्पादनलाई सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रममा जोड्ने उद्देश्यले नक्साङ्कन तथा मेनु कार्यान्वयन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कृषि सहकारी, कृषक समूह, अगुवा कृषक तथा मेलौली नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको पहिचान, उत्पादनको अवस्था, उपलब्धता तथा विद्यालयको दिवा खाजामा प्रयोग गर्न सकिने खाद्यवस्तुका विषयमा छलफल गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर महेन्द्रसिंह नायकले जानकारी दिए।

स्थानीय उत्पादनलाई विद्यालयको दिवा खाजा कार्यक्रमसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित कार्यक्रममा विद्यालयको आवश्यकता, स्थानीय कृषि उत्पादन तथा कृषकसँगको समन्वयका विषयमा छलफल गरिएको नायकले बताए।

कृषि सहकारी, कृषक समूह तथा अगुवा कृषकमार्फत स्थानीय उत्पादनको आपूर्ति र प्रयोगलाई व्यवस्थित बनाउने विषयमा समेत कार्यक्रममा जोड दिइएको थियो। स्थानीय उत्पादनलाई दिवा खाजामा समावेश गर्दा विद्यार्थीले पोषणयुक्त तथा ताजा खाना पाउनुका साथै स्थानीय कृषकले आफ्ना उत्पादनको बजारसमेत पाउने अपेक्षा गरिएको छ।

यसले विद्यालय, कृषक र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै स्थानीय कृषि उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागी मेलौली नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका सबै प्रधानाध्यापकहरूले स्थानीय उत्पादनलाई विद्यालयको दिवा खाजा कार्यक्रममा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीयस्तरमा उत्पादन हुने खाद्यवस्तुको प्रयोगलाई प्राथमिकता दिँदै दिवा खाजा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता उनीहरूले जनाएका हुन्।

स्थानीय उत्पादनको उपयोगमार्फत विद्यालयको दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी, पोषणयुक्त र स्थानीयतामैत्री बनाउने उद्देश्यले कार्यक्रम महत्वपूर्ण रहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.