बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा ईभी गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको ईभी गाडी मंगलबार साँझ करिब ६ः३० बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा मेलौली–१ का अङ्कित नेगी (७), अन्सु नेगी (५), सरस्वती नेगी (३०), लक्ष्मी नेगी (२७), सरु पार्की (३३), चादनी पार्की (२५), जानकी पुजारा (३४), रमेश पुजारा (१२), रेस्मा पुजारा (१५), हजारी पोखरेल (६५), महेन्द्र पुजारा (४२), कमला दमाई (१०) र गगन चन्द (६५) घाइते भएका छन्।
यस्तै पाटन नगरपालिका–७ का नरेश ठगुन्ना (१९), दिनेश ठगुन्ना (१८) र सागर ठगुन्ना (१८), मेलौली–१ का चालक मान सिंह नायक (३०), आलोक चन्द (५) तथा अन्जना कुमारी नेगी (१२) र माधुरी नायक (१२) घाइते भएका छन्।
घाइतेमध्ये अङ्कित, अन्सु, सरु र जानकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो।