बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा प्रेम चन्दको उम्मेदवारी घोषणा

बैतडी-बैतडी जिल्ला भलिबल संघको अध्यक्ष पदका लागि प्रेम चन्दले उम्मेदवारी दिने घोषणा गरेका छन्।लामो समयदेखि भलिबल तथा खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका चन्दले नयाँ सोच र योजनासहित जिल्लाको भलिबल विकासमा योगदान पुर्‍याउने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।

चन्दले आफ्नो उम्मेदवारीसँगै जिल्लामा नियमित भलिबल प्रतियोगिता सञ्चालन गर्ने, खेलाडीलाई प्रशिक्षणको अवसर उपलब्ध गराउने तथा प्रशिक्षक र रेफ्रीको क्षमता विकासमा जोड दिने योजना अघि सारेका छन्। विद्यालयस्तरबाटै भलिबल खेलको आधार तयार गरी नयाँ प्रतिभाको पहिचान र विकास गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

जिल्लामा रहेका प्रतिभावान् खेलाडीलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितासम्म पुग्ने अवसर सिर्जना गर्ने आफ्नो योजना रहेको चन्दले बताएका छन्। त्यसका लागि स्थानीय तह, विद्यालय, खेलकुद क्लब तथा सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य र समन्वय गरी भलिबलका गतिविधि विस्तार गर्ने उनको भनाइ छ।

भलिबल संघलाई पारदर्शी, सक्रिय र जिल्लाका सबै खेलाडी तथा क्लबलाई समेट्ने संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै चन्दले भलिबलको विकासका लागि आवश्यक पूर्वाधार निर्माण तथा खेल गतिविधि बढाउन पहल गर्ने बताएका छन्।

“नयाँ सोच र योजनासहित भलिबलको विकासका लागि काम गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुँ,” चन्दले भने।

चन्द यसअघि जिल्ला भलिबल संघको उपाध्यक्षसमेत भइसकेका छन्। उनले महेन्द्र क्लबको स्थापनाकालदेखि नै खुला भलिबल, जिल्लास्तरीय तथा वडास्तरीय भलिबल प्रतियोगितामा संलग्न हुँदै आएको बताएका छन्। प्रतियोगिताका क्रममा रेफ्रीको भूमिकामा समेत काम गरेको उनको भनाइ छ।

चन्दको उम्मेदवारी घोषणासँगै बैतडी जिल्ला भलिबल संघको आगामी नेतृत्व र जिल्लामा भलिबल खेलको विकासका विषयमा चासो बढेको छ। आगामी नेतृत्व चयनका क्रममा विभिन्न उम्मेदवार तथा एजेन्डाबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.