पाटन–८ जसुलीखालीमा दुई पसलमा तोडफोड र चोरी

बैतडी-बैतडीको पाटन नगरपालिका–८ स्थित जसुलीखालीमा गएराति दुईवटा पसलमा तोडफोड तथा चोरी भएको छ।

स्थानीय केशवराज अवस्थीको पसलको ताला फोडेर नगद तथा विभिन्न सामान चोरी भएको छ। यस्तै, मान सिंह ऐरको होटलको ढोका फोडी गल्लासमेत तोडफोड गरिएको जनाइएको छ।

अज्ञात समूहले रातिको समयमा पसलको ताला फोडी गल्लाबाट केही नगद तथा विभिन्न सामान चोरी गरी लगेको अवस्थीले जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहान पसल खोल्न जाँदा ताला फुटेको र भित्रका सामान तथा नगद चोरी भएको थाहा भएको हो।

घटनापछि व्यवसायीले चोरी तथा तोडफोडमा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाही गर्न प्रहरी चौकी खोडपेसँग आग्रह गरेका छन्।

यस क्षेत्रमा पछिल्लो समय चोरी तथा तोडफोडका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा रात्रिकालीन गस्ती बढाउन प्रहरी चौकी खोडपे र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी खोडपेले जनाएको छ।

Leave A Reply

Your email address will not be published.