बैतडीमा कांग्रेस महाधिवेशनः १० मध्ये चार पालिकाको अधिवेशन सम्पन्न

बैतडी-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीका चारवटा स्थानीय तहमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ। असोज ६ गते सम्पन्न अधिवेशनबाट चारवटै पालिकामा सभापतिसहित नयाँ कार्यसमिति निर्वाचित भएको हो।

प्राप्त विवरणअनुसार दशरथचन्द नगरपालिकाको सभापतिमा रणबहादुर बोहरा, डिलासैनी गाउँपालिकाको सभापतिमा देवराज जोशी र सिगास गाउँपालिकाको सभापतिमा दीपक धामी निर्वाचित हुनुभएको छ। यस्तै, पाटन नगरपालिकामा रमेश महरा नगर सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

जिल्लाको साङ्गठनिक अवस्थाबारे जानकारी दिँदै नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले असोज ६ गतेसम्म जिल्लाका ८४ वडामध्ये ८१ वडामा वडा अधिवेशन सम्पन्न भइसकेको बताउनुभएको छ। साथै, १० वटा पालिकामध्ये चार वटा पालिकाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ।

लोकतान्त्रिक विधि र पार्टीको आन्तरिक निर्वाचन प्रक्रियामार्फत निर्वाचित हुनुभएका सम्पूर्ण पालिका तथा वडाका सभापति, पदाधिकारी एवम् सदस्यहरूलाई जिल्ला सभापति चन्दले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.