बैतडी-मेलौली नगरपालिका–९ विशालपुर स्थित विशालपुर माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी बिसीको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द रहेका थिए। यस्तै कार्यक्रममा मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकज भट्ट लगायत विभिन्न राजनितिक दलका व्यक्तिहरु विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खडक सिंह विष्टले विद्यालयको शैक्षिक अवस्था, वार्षिक गतिविधि, उपलब्धि तथा आगामी योजनालगायतका विषय समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
समारोहमा शिक्षक अभिभावक संघका पदाधिकारी, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष , विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला, बुद्धिजीवी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यालयमा विगतमा अध्यापन गरी सेवा गरेका शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा विद्यार्थी र कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यार्थीका नृत्य, गीत तथा अन्य सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सर्वाङ्गीण विकास तथा विद्यालय र अभिभावकबीचको सहकार्यका विषयमा समेत चर्चा गरिएको थियो।