अशक्त वृद्धाको घरमै पुगेर नागरिकता प्रदान

बैतडी — शारीरिक अशक्तताका कारण प्रशासनिक कार्यालयसम्म पुग्न नसक्ने शिवनाथ गाउँपालिका–२ की एक वृद्धालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत शिवनाथ गाउँपालिका, वडा नं. २ कार्यालय र इलाका प्रशासन कार्यालय मेलौलीको समन्वयमा ७४ वर्षीया सेतु देवी सार्कीलाई उहाँकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

गम्भीर शारीरिक अशक्तताका कारण नागरिकता लिन कार्यालयसम्म पुग्न कठिनाइ भएपछि इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख महेश दत्त भट्ट सहितको टोली सेवाग्राहीको घरमै पुगेको थियो। टोलीले आवश्यक प्रक्रिया पूरा गरी सार्कीलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

नागरिकलाई सहज र प्रभावकारी रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम मार्फत कार्यालयसम्म पुग्न असमर्थ अशक्त, वृद्ध तथा अन्य सेवाग्राहीलाई घरदैलोमै सेवा प्रदान गर्ने प्रयास गरिएको इलाका प्रशासन कार्यालय मेलौलीले जनाएको छ।

इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख भट्टले नागरिकले राज्यबाट प्राप्त गर्ने आधारभूत प्रशासनिक सेवाका लागि अनावश्यक कठिनाइ व्यहोर्न नपरोस् भन्ने उद्देश्यले स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार घरदैलोमै सेवा पुर्‍याउने कार्यलाई निरन्तरता दिइने बताउनुभयो।

उहाँले सेवा प्रवाहमा नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्थानीय तह र प्रशासनबीचको समन्वय महत्वपूर्ण रहेको बताउनुभयो।

घरमै पुगेर नागरिकता प्रमाणपत्र प्राप्त गरेपछि वृद्धा सार्की र उहाँका परिवारजनले प्रशासनको सेवा घरदैलोसम्म आइपुगेकोमा खुसी व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.