दिवा खाजाका लागि स्थानीय कृषि उपज आपूर्ति गर्न मेलौलीको आह्वान

बैतडी-बैतडीको मेलौली नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमका लागि स्थानीय उत्पादनमा आधारित खाद्यान्न आपूर्ति गर्न कृषक समूह, कृषि सहकारी तथा कृषकहरूलाई आह्वान गरेको छ।

नगरपालिकाले स्थानीयस्तरमा उत्पादन तथा उपलब्ध हुने खाद्य सामग्री दिवा खाजा मेनु बमोजिम आपूर्ति गर्न इच्छुक कृषक समूह, कृषि सहकारी, कृषक तथा कृषि फर्मलाई आवश्यक कागजात सहित निवेदन पेश गर्न आग्रह गरेको हो। नगरपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम प्रतिस्पर्धात्मक विधिबाट खाद्य सामग्री खरिद तथा व्यवस्थापन गर्ने मेलौली नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले जानकारी दिए ।

नगरपालिकाका अनुसार इच्छुक समूह तथा सहकारीले दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्यान प्रमाणपत्र, विधानको प्रतिलिपि, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता वा नवीकरण प्रमाणपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र तथा दिवा खाजा मेनु बमोजिम नियमित स्थानीय कृषि उपज आपूर्ति गर्ने प्रतिबद्धता पत्र पेश गर्नुपर्नेछ।

नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गरेको छ।

इच्छुक कृषक समूह, कृषि सहकारी तथा कृषि फर्मले तोकिएको समयभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्नुपर्ने कम्प्युटर अपरेटर नायकले बताए।

स्थानीय उत्पादनलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्ने व्यवस्थाले स्थानीय कृषकको उत्पादनलाई बजारसँग जोड्नुका साथै विद्यालयमा अध्ययनरत बालबालिकालाई स्थानीय तथा पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराउने नगरपालिकाको अपेक्षा रहेको छ।

Leave A Reply

Your email address will not be published.