बैतडी-बैतडीको मेलौली नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्था तथा गुणस्तर सुधारका विषयमा छलफल गर्न असोज २० गते शैक्षिक परामर्श सभा आयोजना हुने भएको छ।
मेलौली नगरपालिका र शिक्षा नीति तथा अभ्यास केन्द्र शिनिअके को संयुक्त आयोजनामा हुन लागेको उक्त सभामा मेलौली नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयको विद्यमान अवस्था, शैक्षिक गुणस्तर सुधारका चुनौती तथा समाधानका उपायका विषयमा छलफल गरिने भएको हो।
परामर्श सभामा शिक्षाविद् डा.कोइरालासँग शैक्षिक सुधारका विविध विषयमा छलफल गरिने जनाइएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि देखिएका चुनौती पहिचान गर्दै त्यसका सम्भावित समाधानका उपायबारे सरोकारवालाबीच छलफल गर्ने र साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारि दिए ।
कार्यक्रममा मेलौली नगरपालिकाभित्रका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक तथा शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सहभागिता रहनेछ।
नगरपालिकाका अनुसार शैक्षिक क्षेत्रको वर्तमान अवस्था, विद्यालयको गुणस्तर सुधार, देखिएका समस्या तथा आगामी दिनमा अपनाउनुपर्ने सुधारका उपायबारे सहभागीबीच अन्तरक्रिया गरिनेछ। साथै, शैक्षिक सुधारका लागि साझा प्रतिबद्धता पत्र जारी गर्ने उद्देश्य समेत राखिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
शैक्षिक परामर्श सभा असोज २० गते बिहान १० बजेदेखि मेलौली–७ काँडा स्थित मणिलेक माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन हुनेछ।
कार्यक्रममा सम्बन्धित सबै सरोकारवालाको गरिमामय उपस्थिति तथा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ।
