बैतडी-पञ्चेश्वर गाउँपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका चुनौती र समाधानका उपायबारे बृहत् शैक्षिक परामर्श सभा आयोजना हुने भएको छ।
पञ्चेश्वर गाउँपालिका र शिक्षा नीति तथा अभ्यास केन्द्रको संयुक्त आयोजनामा आगामी असोज १८ गते शैक्षिक परामर्श सभा आयोजना गर्न लागिएको हो। गाउँपालिकाका सामुदायिक विद्यालयको वर्तमान अवस्था, शैक्षिक गुणस्तर सुधारका चुनौती तथा समाधानका उपायबारे छलफल गरी आगामी दिनका लागि साझा प्रतिबद्धता तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए।
गाउँपालिकाका अनुसार असोज १८ गते बिहान १० बजेदेखि कुलाउस्थित श्री कुलाउ माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला र शिक्षाविद् टिका भट्टले सहजीकरण तथा अन्तरक्रिया गर्ने जनाइएको छ। कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य, शिक्षा समिति सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय पत्रकारलाई आमन्त्रण गरिएको छ।
परामर्श सभामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले भोगिरहेका समस्या, भइरहेका प्रयास तथा सुधारका सम्भावित उपायबारे विद्यालयगत प्रस्तुति समेत गरिनेछ। कक्षा ५ सम्म, कक्षा ८ सम्म, कक्षा १० सम्म र कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयका समूहगत प्रस्तुति तथा विद्यालयको शैक्षिक अवस्थासम्बन्धी प्रस्तुति तयार गरी सहभागी हुन प्रधानाध्यापकहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ।
पञ्चेश्वर गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि १० वर्षे शिक्षा योजना २०८३–२०९२ समेत सार्वजनिक गरिसकेको छ। उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक रणनीति तय गर्न परामर्श सभा महत्वपूर्ण हुने गाउँपालिकाले जनाएको छ।
बैतडीका अन्य स्थानीय तहले पनि शिक्षा क्षेत्र सुधारका लागि यस्ता शैक्षिक परामर्श तथा अन्तरक्रियाका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्। मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले समेत शैक्षिक परामर्श सभा आयोजना गर्ने जनाएका छन्।