केदार आधारभूत विद्यालयमा विपन्न विद्यार्थीलाई झोला र ५० छात्रालाई पोशाक वितरण

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका–४, स्थित केदार आधारभूत विद्यालयमा विजया दशमी विशेष शुभकामना आदान प्रदान कार्यक्रम, अभिभावक भेला तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीको शैक्षिक सुधार, लामो बिदाको सदुपयोग, घरमा अध्ययन गर्ने वातावरण निर्माण तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने विषयमा छलफल गरिएको प्रधानाध्यापक हिरा राम ओडले बताए । लामो बिदामा विद्यार्थीलाई नियमित अध्ययनमा सक्रिय राख्न, गृहकार्य तथा परियोजना कार्य पूरा गर्न र मोबाइलको अनावश्यक प्रयोग कम गर्न अभिभावकको भूमिकामा जोड दिइएको उनले बताए ।

कार्यक्रममा पञ्चेश्वर गाउँपालिका–४, मटिउँल निवासी उमेश चन्दलाई विद्यालयको सहयोग अभियानमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो। त्यसैगरी, पञ्चेश्वर गाउँपालिका–४, आम्चौराका युवाहरूको पहलमा स्थापित ‘हाम्रो समाज, हाम्रो एकता’ प्रवास कमिटी ग्रुपको सहयोगमा गरिब तथा विपन्न विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको विद्यालयका शिक्षक विरेन्द्र भट्टले जानकारि दिए ।

यस्तै, कृष्टिना गार्मेन्ट उद्योगका प्रोप्राइटर, रघुनाथ सिंह पुजाराको सहयोगमा विद्यालयमा अध्ययनरत ५० जना छात्रालाई विद्यालय पोशाक वितरण गरिएको थियो।

आर्थिक अभावका कारण शैक्षिक सामग्री व्यवस्थापनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको सहयोगले उनीहरूको अध्ययनप्रतिको उत्साह, आत्मविश्वास र नियमित उपस्थितिमा सकारात्मक योगदान पुग्ने विश्वास विद्यालयले लिएको छ।

कार्यक्रममा विद्यालय, अभिभावक, स्थानीय युवा तथा सहयोगी मनहरूबीचको सहकार्यबाट गुणस्तरीय शिक्षा र समतामूलक समाज निर्माणमा योगदान पुग्ने बताइएको थियो।

कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको थियो।

Leave A Reply

Your email address will not be published.