बैतडी -बैतडीको मेलौलीका राजेन्द्रकान्त दयाल सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार–२०२६ को गायनतर्फ विजेता बनेका छन्।
म्युजिक कम्पनी प्रालिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताका विभिन्न चरण पार गर्दै दयाल सिजन–१ को विजेता बन्न सफल भएका हुन्।
पेशाले स्वास्थ्यकर्मी रहेका दयाल कला क्षेत्रमा समेत सक्रिय छन्। उनी बैतडीको मुस्याचोरस्थित आयुर्वेद औषधालयमा कार्यरत छन्। स्वास्थ्य सेवामा आबद्ध रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका दयालले लामो समयदेखि गायन क्षेत्रमा समेत सक्रियता देखाउँदै आएका छन्।
उनले विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै आएका छन्। स्वास्थ्य सेवा र कला क्षेत्रलाई सँगसँगै अघि बढाइरहेका दयालको यस सफलताले उनको सांगीतिक यात्रामा थप उत्साह थपेको छ।
आयोजकले दयाललाई गायनतर्फको विजेता घोषित गर्दै प्रमाणपत्र र दुई लाख रुपैयाँको पुरस्कार समेत प्रदान गरेको छ। उनलाई थाइल्यान्ड, मलेसिया र सिंगापुर भ्रमण सम्बन्धी अन्तर्राष्ट्रिय टुर अवार्ड पनि प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ।
प्रतियोगिताको विजेता बनेपछि दयालले आफूलाई यहाँसम्म पुग्न सहयोग गर्ने, हौसला प्रदान गर्ने तथा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्।