आइतबारदेखि देशभरको मौसममा सुधार आउने

काठमाण्डौ-भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण–पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ । आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिराहामा १०३ दशमलव ४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भूभागका एक–दुई ठाउँमा मात्र हल्का वर्षा हुनेछ । पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रका लागि पहेँलो चेतावनी जारी गरेको छ । मेघगर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.