बालविवाह रोकथामका लागि सचेतनामूलक कार्यक्रममै जोड

बैतडी– बालविवाह रोकथामका लागि घरघरमा सचेतना फैलाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

बैतडीको पाटनमा शनिबार परोपकार ग्रामीण विकास संघले आयोजना गरेको समन्वयात्मक बैठकका सहभागीहरूले सघन रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले अभियानकै रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके बालविवाह रोकथाममा सहयोग पुग्ने बताए । बालविवाहका कारण विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने भएकाले अभिभावक, किशोरकिशोरी र सरोकारवालाहरू मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

सिद्धनाथ मावि सिलङ्गाका प्रधानाध्यापक लक्ष्मणसिंह बोहराले बालविवाहका विभिन्न कारण पहिचान गरी अन्तरपुस्ता संवादजस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए । स्थानीय सरकार र संघसंस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक इन्द्रराज भट्टले सामाजिक सञ्जालको दुरुपयोगलगायतका कारण बालविवाहका घटना भइरहेकाले यसको सही प्रयोगबारे सचेतना फैलाउनुपर्ने बताए । पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले बालविवाह रोकथामका लागि पालिका र वडा तहबाट भइरहेका प्रयासमा सबैको सहयोग आवश्यक रहेको बताए ।

पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बालविवाह न्यूनीकरणमा लामो समयदेखि काम गर्दै आएको परोपकार ग्रामीण विकास संघसँग नगरपालिकाले सहकार्य गर्ने बताए ।

संघकी कार्यक्रम संयोजक कुन्ती भट्टका अनुसार गल्स फस्ट फण्डको सहयोगमा पाटन नगरपालिका–२ र ६ मा बालविवाह रोकथाम तथा किशोरकिशोरीको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ । सन् २०२७ मा सञ्चालन गरिने कार्यक्रमबारे सरोकारवालालाई जानकारी दिन बैठक आयोजना गरिएको उनले बताइन् ।

आगामी एक वर्षमा किशोरकिशोरीका लागि रूपान्तरण कक्षा, अन्तरपुस्ता संवाद, धार्मिक अगुवाहरूसँग संवाद, लागूऔषध दुर्व्यसन नियन्त्रणसम्बन्धी अन्तरक्रिया तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भट्टले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.