विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले आज क्यानडासँग खेल्दैछ ।

यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । नेपालले शृंखलामा क्यानडा र ओमानसँग गरी समान दुईरदुई खेल खेल्नेछ ।

यसमध्ये तीन खेलमा विजय जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चारमध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ ।

अस्ति भएको लिग–२ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष–४ मा पर्ने सम्भावना सकिएको थियो । योसँगै नेपालले अब प्लेअफ खेल्नेछ ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग–२ अंकतालिकामा ओमानको २९ खेलबाट ३३ अंक भएको छ ।

नेपालको ३२ खेलबाट २४ अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा ३२ अंक पुग्न सक्छ । अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिग–२ को च्याम्पियन भैसकेको छ । स्कटल्यान्डको ३६ खेलबाट ४५ अंक छ भने नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ ।

चौथो स्थानको ओमानको २९ खेलबाट ३३ अंक, पाँचौंको नामिबियाको ३५ खेलबाट ३१ अंक, छैटौंको क्यानडाको ३३ खेलबाट २५ अंक छ । नेपाल ३२ खेलमा २४ अंकसहित सातौंमा छ भने यूएई ३१ खेलबाट १९ अंकसहित आठौंमा छ ।

Leave A Reply

Your email address will not be published.