कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्ष शुरु भएको झण्डै तीन महिनापछि प्रदेश सरकारले बजेट ल्याएको हो । यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते ३७ अर्ब ७० करोड रुपैयाँकै बजेट प्रस्तुत गरेको थियो । तर, बजेटसम्बन्धी विवादका कारण सरकार परिवर्तन भएपछि उक्त बजेट पारित हुन सकेको थिएन् ।
अघिल्लो सरकारले प्रदेशसभामा पेस गरेका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव आइतबारको बैठकबाट स्वीकृत भएपछि नयाँ बजेट सार्वजनिक गरिएको हो ।