कैलाली-कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट पाएको छ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न ५० सिट निर्धारण गरेको हो।
चिकित्सा शिक्षा आयोगको यो निर्णयसँगै गेटामा एमबीबीएस अध्ययनको बाटो खुलेको छ। लामो समयदेखि चिकित्सा शिक्षाको पर्खाइमा रहेको सुदूरपश्चिममा पहिलोपटक चिकित्सक उत्पादन गर्ने प्रक्रिया अघि बढ्ने भएको हो।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले गेटासहित देशभरका ८४ शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। आयोगले गत वर्षको तुलनामा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट थप गरेको जनाएको छ।यस वर्ष एमबीबीएस तर्फ मात्रै ११० सिट वृद्धि गरिएको छ।