बैतडीमा २३औं संस्करणको बिडिसिए कप क्रिकेट मंसिर १२ गते

बैतडी -प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनोट तथा बिडिसिए कप क्रिकेट प्रतियोगिताको २३औं संस्करण आगामी मंसिरमा हुने भएको छ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता मंसिर १२ गतेदेखि सुरु हुने जिल्ला क्रिकेट संघ बैतडीले जनाएको छ ।प्रतियोगिताका सम्पूर्ण खेलहरू दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा खेलाइने संघका सचिव श्यामबहादुर चन्दले बताए ।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक क्लबहरूका लागि टिम दर्ता खुला गरिएको बताइएको छ । सहभागिता जनाउने क्लबहरूले आगामी कात्तिक ३० गतेभित्र टिम दर्ता गराउनुपर्ने छ भने, टिम दर्ता शुल्क १० हजार रूपैयाँ तोकिएको जिल्ला क्रिकेट संघ बैतडीले जनाएको छ । नयाँ दर्ता भएका क्लबहरूले समेत यस प्रतियोगितामा भाग लिन पाउने संघका सचिव चन्दले जानकारी दिए।

बैतडी जिल्ला क्रिकेट संघले नियमित रूपमा प्रत्येक वर्ष बिडिसिए कपको आयोजना गर्दै आएको छ। गत वर्ष सम्पन्न यस प्रतियोगिताको २२औं संस्करणको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब  (एनसिसि)  ले जितेको थियो।

Leave A Reply

Your email address will not be published.