बुधबारदेखि बाली नभित्र्याउन र लामो दुरीको यात्रा नगर्न मौसमविद्को सुझाव

काठमाण्डौ – बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् ।

यसको प्रभावले यही बुधबार कात्तिक ११ देखि १५ गते अर्थात् ५ दिनसम्म देशका विभिन्न ठाउँमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

मौसमविद्हरूले यो समयमा सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै पाकेको धानबाली नकाट्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा पहाडी राजमार्गमा लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन् । मौसमविद् उज्ज्वल उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रणालीको अवस्था र त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे आज दिउँसो सम्म थप स्पष्ट हुने बताउनुभएको छ ।

मौसमको अवस्था हेरेर तत्कालै बाली काट्न र सुरक्षित ठाउँमा भण्डारण गर्ने व्यवस्था मिलाउन मौसमविद्को आग्रह छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा पदयात्राका क्रममा मौसम प्रतिकूल हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ । विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा बुधवारदेखि आईतबारसम्म यात्रा गर्दा थप सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा मौसम प्रभावित हुन सक्ने जनाएको छ । आधिकारिक मौसमी बुलेटिन र सूचनालाई नियमित रूपमा हेर्न तथा सम्भावित जोखिमबाट बच्नका लागि पूर्वतयारी गर्न समेत मौसमविद्को सल्लाह छ ।

Leave A Reply

Your email address will not be published.