बैतडी-बैतडीमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूको बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा बसेको बैठकले सेवा प्रवाह, सुशासन, विकास व्यवस्थापन तथा वार्षिक कार्यक्रम कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ।
जिल्ला प्रशासन कार्यालय, बैतडीका अनुसार बैठकमा कार्यालयका अनुकरणीय कार्य तथा असल अभ्यासको आदानप्रदान, वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना, सवारीसाधन प्रयोगको अनुमति र कर्मचारी मिलन केन्द्रको क्रियाशीलता बढाउने विषयमा छलफल गरी विभिन्न निर्णय गरिएको छ।
बैठकमा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष बुलेटिनका आधारमा सम्भावित विपद्को जोखिम न्यूनीकरणका विषयमा समेत छलफल भएको थियो।
बुलेटिनअनुसार आगामी बिहीबारदेखि शनिबारसम्म भारी वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित वर्षा र हिमपातका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन तथा आवश्यक सावधानी अपनाउन जोड दिइएको छ।
सम्भावित विपद्बाट हुने क्षति कम गर्न सम्बन्धित निकायबीच समन्वय र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्नेमा बैठकले जोड दिएको जनाइएको छ।