बैतडी-बैतडीको पाटन नगरपालिकामा आगामी मंसिर १ देखि ३ गतेसम्म युवा सम्मेलन तथा नमूना युवा नगर सभा सञ्चालन हुने भएको छ ।
युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा स्थानीय तहको नीति निर्माण प्रक्रियामा युवाहरूको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिश बिष्टले जानकारी दिए ।
नगरपालिकाको सभाहलमा सञ्चालन हुने नमूना युवा नगर सभामा नगरपालिकाका १० वटै वडाबाट युवाहरूको सहभागिता रहने नगरपालिकाका रोजगार शाखा प्रमुख खेमराज अवस्थीले बताए ।
उनका अनुसार प्रत्येक वडाबाट कम्तीमा ६ जनाका दरले युवाहरू सहभागी गराइनेछ । युवाहरूको सहभागिता नगर युवा सञ्जालमार्फत सुनिश्चित गरिने उनले बताए ।
युवा सम्मेलन तथा नमूना युवा नगर सभा सञ्चालनका लागि नगरपालिकाले नगर युवा सञ्जाल, पिसवीन, परोपकार ग्रामीण विकास संघ लगायतका संघसंस्थाहरुसँग सहकार्य गरेको बताइएको छ ।