बैतडी-बैतडीको मेलौली नगरपालिका-३ कुजागाड(चिनाडी)निवासी मनोज चन्दको परिवार यतिबेला गम्भीर स्वास्थ्य समस्या र आर्थिक संकटबाट गुज्रिरहेको छ।
मनोज चन्दकी श्रीमती त्रिशना चन्द र नवजात शिशु दुवै अस्पतालमा उपचाररत भएपछि चन्द परिवारले सहयोगको अपिल गरेको छ।
चन्द कात्तिक २२ गते दिन प्रसूति अवस्थामै डडेल्धुरा अस्पतालको तेस्रो तलाबाट खसेर गम्भीर घाइते हुनुभएको हो। दुर्घटनामा उहाँको मेरुदण्ड कम्मर र बायाँ खुट्टाको दुई ठाउँमा हड्डी भाँचिएको छ।
हाल उहाँ धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत हुनुहुन्छ। चिकित्सकले एमआरआई तथा सीटी स्क्यान रिपोर्टका आधारमा मेरुदण्ड र बायाँ खुट्टामा गरी तीन ठाउँमा शल्यक्रिया गर्नुपर्ने बताएका छन ।
तर प्रसूति अवस्थाका कारण शरीर कमजोर हुनुका साथै रगतको कमी भएकाले तत्काल शल्यक्रिया गर्न नसकिने र केही समय अस्पतालमै राखेर स्वास्थ्य अवस्था सुधार गर्नुपर्ने मनोज चन्दले बताएका छन ।
श्रीमती र छोराको उपचार तथा हेरचाहका लागि मनोज चन्दले भारतको मुम्बईमा गर्दै आएको रोजगारी समेत छोड्नुभएको छ। लामो समयसम्म चल्ने उपचार, शल्यक्रिया र अस्पताल खर्च जुटाउन कठिन भएपछि उहाँको परिवारले देश तथा विदेशमा रहेका नेपाली, आफन्त, इष्टमित्र तथा सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ।
यस कठिन घडीमा मानवीय सहयोगस्वरूप आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ।
यता, नवजात शिशुसमेत माया मेट्रो अस्पतालको एनआईसीयूमा उपचाररत छ। एकातिर श्रीमती गम्भीर घाइते भएर अस्पतालको शय्यामा हुनुहुन्छ
भने अर्कोतिर नवजात शिशु सघन उपचार कक्षमा उपचार गराइरहेको छ। परिवारका लागि यो अवस्था निकै पीडादायी बनेको मनोज चन्दले बताएका छन ।
आर्थिक सहयोगका लागि
नेपालबाट सहयोग गर्न:
- खातावालाको नाम: मनोज चन्द
- बैंक: कुमारी बैंक लिमिटेड
- खाता नम्बर: 2710221492000001