बैतडी-बैतडीको दशरथचन्द नगरपालिकाले त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा मंसिर २ गते बुधबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार दशरथचन्द नगरपालिका–८ मा अवस्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने जात्राका अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय तथा शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको हो ।
रणशैनी भगवतीका नामले समेत परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य जात्रा लाग्ने गर्दछ । यस वर्ष मंसिर १ र २ गते जात्रा आयोजना हुने त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले जानकारी दिए ।
जात्राको तयारी भव्य रूपमा भइरहेको उहाँले बताए । जात्रालाई व्यवस्थित र मर्यादित बनाउन भक्तजनलाई चिउरीका दुनामा पूजा सामग्री ल्याउन आग्रह गरिएको छ ।
त्यस्तै, मन्दिर आसपासको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । दर्शनार्थीलाई सहज रूपमा पूजाआजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको सचिव थापाले बताए ।
त्रिपुरासुन्दरी भगवतीको जात्रामा नेपालका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् ।