मेलौली भगवतीको देहीजातका लागि ५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन

बैतडी-बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने परम्परागत देहीजातलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ।

मेलौली धार्मिक सेवा समितिको मंसिर २ गते बसेको बैठकले मेलौली नगरपालिका–६ का वडा अध्यक्ष तारादत्त भट्टको संयोजकत्वमा ५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष दशरथ सिंह नायकले जानकारी दिए ।

त्यस्तै, चिन्ता सिंह विष्टको संयोजकत्वमा तीन सदस्यीय स्टल वितरण समिति गठन गरिएको छ । मंसिर ३ गते बिहान ८ बजेदेखि व्यापारी तथा व्यवसायीलाई स्टल वितरण गरिने मेलौली धार्मिक सेवा समितिले जनाएको छ ।

मेलालाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको र मेलामा आउने श्रद्धालु तथा दर्शनार्थीलाई सहज रूपमा देवीको दर्शन गर्ने वातावरण मिलाउनुका साथै स्टल व्यवस्थापन, सरसफाइ, सुरक्षा र अन्य आवश्यक व्यवस्थापकीय पक्षमा ध्यान दिइने मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिंह नायकले बताए ।

धार्मिक परम्परा र मेलाको मौलिकता कायम राख्दै स्थानीय, व्यापारी, श्रद्धालु तथा सरोकारवाला सबैको सहयोग र सहकार्यमा देहीजात सम्पन्न गरिने उहाँको भनाइ छ ।

मेलौली नगरपालिका–१ मा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा मंसिर ७ र ८ गते देहीजात लाग्नेछ । देहीजातका रूपमा परिचित उक्त मेला परम्परागत धार्मिक विधिअनुसार बोका तथा राँगाको बलि सहित भव्य रूपमा मनाइने गरिन्छ ।

मेलौली भगवती मन्दिरको देहीजातमा देवीको दर्शन तथा मेलाको अवलोकन गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु पुग्ने गरेका छन् ।

धार्मिक आस्था, ऐतिहासिक परम्परा र सांस्कृतिक महत्त्व बोकेको मेलौली भगवती मन्दिरको देहीजात बैतडीको प्रमुख धार्मिक मेलामध्ये एकका रूपमा परिचित छ ।

Leave A Reply

Your email address will not be published.