सुदूरपश्चिम यु–१६ क्रिकेट छनौट वैशाख १ देखि हुने

सुदूरपश्चिम प्रदेशस्तरीय १६ वर्षमुनीको क्रिकेटको छनौट प्रतियोगिताको नयाँ मिति तय भएको छ । यसअघि अछाममा चैत २८ गतेदेखि हुने भनिएको प्रतियोगिता सडक बन्दका कारण स्थगित गरिएको थियो ।
सार्वजनिक नयाँ मिति अनुसार प्रतियोगिता वैशाख १ गतेदेखि हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । समूह ए मा कैलाली, बैतडी,डडेल्धुरा र दार्चुला रहेका छन् । समूह बी मा कञ्चनपुर, अछाम,डोटी र बझाङ रहेका छन् । दुबै समूहबाट शिर्षमा रहेका टोली फाइनल खेल्नेछन् । अछामको साँफेबगरमा हुने प्रतियोगिताको पहिलो खेलमा वैशाख १ गते बिहान साढे ८ बजे अछाम र डोटी आमने सामने हुँदा सोही दिन हुने अर्को खेलमा कञ्चनपुर र बझाङ भिड्नेछन् ।
वैशाख २ गते हुने दोस्रो खेलमा कञ्चनपुर र डोटी भिड्दा दोस्रो खेलमा अछाम र बझाङ प्रतिस्प्रर्धा गर्नेछन् । वैशाख ३ गतेको खेलमा कैलाली र डडेल्धुरा तथा बैतडी र दार्चुलाबीच भिडन्त हुनेछ ।
वैशाख ४ गते पहिलो खेलमा कञ्चनपुर र अछाम भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटीबीच प्रतिस्प्रर्धा हुनेछ ।  बैतडी र डडेल्धुरा तथा कैलाली र दार्चुला भिड्नेछन् । वैशाख ६ गते कैलाली र बैतडी तथा दार्चुला र डडेल्धुराबीचको प्रतिस्प्रर्धा हुने जनाइएको छ ।

वैशाख ७ गते हुने फाइनल खेलमा समूह ए को विजेता र समूह बी को विजेता भिड्नेछन् । उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रियस्तरीय छनौट प्रतियोगिता खेल्नेछ ।
राष्ट्रियस्तरीय छनौट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनौट गर्न निर्देशन दिएको हो ।
एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ । सोहि प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.