सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने

अत्तरिया -सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ। यो वर्ष कैलालीसहित प्रदेशका अन्य जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो। स्वास्थ कार्यालय कैलालीको आयोजनामा जिल्लाभर खोप अभियान चलाउन गोष्ठी आयोजना गरिएको छ।

जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो।कार्यक्रममा स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए।

सुदूरपश्चिममा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना छ। धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न गोष्ठी आयोजना गरिएको बताए।

गोष्ठीमा खोपबाट बचाउन सकिने रोगहरूको सर्भिलेन्स, निगरानी तथा महामारी नियन्त्रणको प्रक्रिया र तहगत भूमिकाबारे जानकारी एवं छलफल गरिने छ।

दादुरा र रुबेलाको खोप नियमित खोप कार्यक्रमबाट भारत गएका परिवारका बालबालिका बञ्चित हुने गरेको बताइएको छ। यस्तै, भारतीय मजदुरका सन्तानले पनि खोप लगाउन नमान्ने गरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.