नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय महेशराम लावड पक्राउ परेका हुन् । उनले आफ्नो नाम दिनेश विष्ट भन्दै काठमाडौ बोलाएर ठगी गर्दै आएको खुलेको छ ।
लावडले डोटीको पुर्बीचौकी गाउँपालिका–७ का देवबहादुर विकलाई नेपाल आर्मीको भान्सेमा जागिर लगाइदिन्छु भनी ठगेको पाइएको हो । उनले कागजात माग गरी नेपाली सेनाका तेघरी लगायत विभिन्न तालिम केन्द्र रहेका स्थान नजिक बोलाई आवेदन फाराम भर्ने काम गरेका थिए ।
महेशरामले देवबहादुर विकबाट ४ लाख २० हजार रकम खाएको खुलेको छ । देवबहादुरलाई काठमाडौ बोलाएर रकम बुझेपछि महेशराम सम्पर्क बिहिन भएका थिए ।
देवबहादुरले महेशरामको नाममा ठगीको निवेदन दिएपछि उनको खोजतलास सुरु भएको थियो । खोजतलासपछि उनी दिनेश विष्ट नभई महेशराम लावड रहेको खुलेको हो । उनी नेपाली सेनामा २०६२ देखी २०७३ साल सम्म जागिर गरी सो पश्चात सुर्खेत ब्यारेकबाट भागेको पाइएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले हिजो( शनिबार) बाँके जिल्लाको राप्तीसोनारी गाउपालीका वडा नम्बर–९ शम्सेरगंजबाट पक्राउ गरिएको हो । उनी विरुद्ध ठगी सम्बन्धी मुद्धा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साथै, उनले देशका भिन्न स्थानमा फरकफरक नाम र ठेगाना भन्दै आएको खुलेको छ । उनले आफ्नो नाम मनोज रावत, रमेशसिंह बिष्ट, मनोजसिंह बिष्ट, दिनेश बिष्ट भनी बताउने गरेको र नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुसँग राम्रो सम्बन्ध छ भन्दै ठगी गर्ने गरेको खुलेको छ ।
सुर्खेतस्थित नेपाली सेनाको प्राविधिक पदमा भर्ना गरी दिने भनी एक जना महिला र कार्यालय सहयोगीमा भर्ना गरी दिने भनी अर्का एक जना पुरुषबाट समेत ३ लाख ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ ।
महेशरामले अन्य व्यक्तिलाई ठगी गरेको हुन सक्ने भएकाले कोही कसैलाई ठगी गरेको भए कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले आग्रह गरेको छ ।