इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीमध्ये चार जनाको शव धनगढी ल्याईदै छ। स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थलमा ल्याउन लागिएको नेपाली सेनाले जनाएको छ ।
आज आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार जना नेपालीको शव आइपुगेको थियो । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल आइपुगेको हो ।
अहिलेसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल आइपुगेको छ । न्यौपानेको शव गए राति आइपुगेको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ बजेर ४० मिनेटमा नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गएको असोज २० गते हमास समूहको आक्रमणमा परि इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उनीहरू गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ुअर्न एन्ड लर्नु कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
त्यस आक्रमणमा परि ज्यान जाने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । त्यही आक्रमणमा परि कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन् ।
आक्रमणमा परि मृत्यु भएका बाँकी छ जना नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।