आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ।
कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ। यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ। यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। गाईपूजा पर्सि सोमवार परेको छ ।
गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। भाइटीका बुधवार परेको छ। बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ।