पिएम कप महिला क्रिकेटः सुदूरपश्चिम छनौट बिहीबारदेखि

बैतडी-प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बिहीबारदेखि हुने भएको छ।सहभागी हुने प्रदेशका ८ जिल्लाका टोलीलाई दुई समूहमा विभाजन गरि छनौट प्रतियोगितामा सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट समितिका उपाध्यक्ष तथा प्रतियोगिता सञ्चालन समितिका संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो।

समूह ए मा डडेल्धुरा,दार्चला,डोटी,अछाम र समूह बी मा बैतडी,बझाङ, कैलाली कञ्चनपुर रहेका छन्।समूह ए का खेलहरू डडेल्धुरामा र समूह बी का खेलहरू कैलालीमा हुने जनाइएको छ।

समूह ए को शिर्ष स्थानमा रहने टोलीले समूह बी का टोलीहरूबीच प्रतिस्पर्धा गर्न पाउने छ। गत वर्ष भएको प्रदेशस्तरीय छनौट पुगेका टोलीले सिधै छनौट प्रतियोगिता खेल्न पाउने र सेमिफाइनल नपुगेका टोलीले सुपर लिग खेलेर शिर्ष स्थानमा पुगेर छनौट तथा फाइनल राउन्ड खेल्न पाउनेछ।

हाल समूह बी मा रहेका टोली सेमिफाइनल पुगेका र समूह ए मा रहेका टोली सेमिफाइनल नपुगेका हुन्।अमरगढीस्थित रालिलिला मैदानमा बिहीबार हुने समूह ए को पहिलो खेलमा दार्चुला र डडेल्धुरा तथा दोस्रो खेलमा अछाम र डोटी प्रतिस्पर्धा गर्नेछन्।

शुक्रबार हुने पहिलो खेलमा दार्चुला र अछाम तथा डडेलधुरा र डोटी भिड्नेछन्।यस्तै शनिबार हुने पहिलो खेलमा डडेल्धुरा र अछाम तथा दोस्रो खेलमा डोटी र दार्चुलाबीच भिडन्त हुनेछ।
यसैबीच शैनिक आवाशिय महाविद्यालयको खेलमैदानमा मंसिर २४ गते हुने समूह बी को पहिलो खेलमा कैलाली र कञ्चनपुर तथा दोस्रो खेलमा बैतडी र बझाङ खेल्नेछन् ।

मंसिर २५ गते पहिलो खेलमा कैलाली र समूह ए को शिर्ष स्थानको टोली तथम दोस्रो खेलमा कञ्चनपुर र बैतडी आमनेसामने हुनेछन् ।मंसिर २६ गते पहिलो खेलमा बझाङ र समूह ए को विजेता तथा दोस्रो खेलमा बैतडी र कैलाली भिड्नेछन् ।

यस्तै मंसिर २७ गते पहिलो खेलमा बैतडी र समूह ए को विजेता तथा दोस्रोमा कञ्चनपुर र बझाङ प्रतिस्पर्धा हुनेछ ।मंसिर २८ गते पहिलो खेलमा कैलाली र बझाङ तथा दोस्रो खेलमा कञ्चनपुर र समूह ए को विजेता टोली खेल्नेछन् ।

मंसिर २९ गते अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुने जनाइएको छ।
प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनौट भएका खेलाडीले टोली बनाएर राष्ट्रिय प्रतियोगिता खेल्नेछन्।प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहनेछ।

 

Leave A Reply

Your email address will not be published.