बैतडी-प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्न बैतडीको टोली प्रस्थान गरेको छ। कैलालीको तेघरीमा आइतबारदेखि शुरु हुने छनौट प्रतियोगिताका लागि बैतडीको टोली शुक्रबार प्रस्थान गरेको हो।
बैतडी जिल्ला क्रिकेट संघको तर्फबाट टोलीको बिदाई गरिएको संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो। यसका साथै उक्त टोलीलाई दशरथचन्द नगरपालिका नगर खेलकुद समितिका तर्फबाट टोपी र बिदाई पनि गरिएको छ।
देहिमाडौंमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई टोपी हस्तान्तरण र बिदाई गरिएको क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।
बिदाई समारोहमा दशरथचन्द नगरपालिका २ का वडाअध्यक्ष सुर्य बोहरा,नगर खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्द, सदस्य लक्ष्मण भाट,वीरसिंह बोहरा लगायतको उपस्थिति रहेको थियोे ।रितु कनौजियाको कप्तानी १४ सदस्यीय टोली प्रस्थान गरेको हो।
कप्तान रितुसंगै पिंकी बोहरा,आरती बोहरा,जानकी थापा,संगिता मौनी,करिष्मा थापा,निर्मला भण्डारी,रितु बुडाल,ममता बोहरा,रबिना बोहरा,बसन्ती बोहरा,लक्ष्मी महर,रेनु पेला र ममता चन्द टोलीमा रहेका छन्।
दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा ३ दिन छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टोली छनौट गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । बैतडीको पहिलो खेल मंसिर२४ गते बझाङसंग छ।प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहनेछ