बैतडी: आगोमा जलेर बैतडीमा दुई महिला घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका १ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो।
घर नजिकै रहेको भीरमा घाँस काटिरहेका बेला दिउँसो १ बजे हावाहुरीसँगै आएको डढेलोमा परी दुवै जना घाइते भएका हुन्। प्रवक्ता जोशीले भन्नुभयो, भीरमा घाँस काटिरहेका बेला एक्कासी आगो आएको र भाग्न नसक्दा दुबैजनाको शरिरमा आगो लागेको रहेछ।
आगोमा जलेका दुबैजनालाई स्थानीयले उद्घार गरि जिल्ला अस्पताल उपचारका लागि ल्याइएको छ। घाइते दुवैजनाको खुट्टा र मुख जलेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।