बैतडी: दोगडाकेदार गाउँपालिका छ वटा वडाहरूलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ। गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्यसहित यहाँका छ वडालाई घोषणा गरिएको हो।
वडा नं १ रिम र वडा नं २ कमलपुर बाहेकका अन्य सबै वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो । गाउँपालिकाले बनाएको कार्यविधिअनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्यसंस्थामै सुत्केरी भएको,नियमित रूपमा ४ पटक गर्भ जाँच गराएको,नेपाल सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको,आइरन चक्की, जुका औषधि खाएको,पौष्टिक आहारका लागि परामर्श गरेको,
एचआइभी जाँच गरेको लगायतका मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको प्रमख नाथले बताउनुभयो। गाउँपालिकाले स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राखेकोले यो क्षेत्रमा बजेटको पनि विषेश व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताउनुभयो। उहाँले भन्नुभयो,”स्वास्थ्य क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेको छ, यसमा बजेटको पनि विषेश व्यवस्था गरेका छौं।,”
आमा र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले विषेश कार्यक्रम सञ्चालन गरेको र अगामी दिनमा पनि ती कार्यक्रम सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो, ” गर्भवती र सुत्केरीलाई मध्यनजर गरेर मातृशिशु कोष स्थापना गरेका छौं। उपाध्यक्षको कोसेली पनि सञ्चालनमा छ।”
गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो,” गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौं।”