देशभर पानी परेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ।
मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली नै रहनेछ। देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना छ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मनसुनी वायु सक्रिय भएकाले अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो। उहाँका अनुसार लगातार वर्षा नभएपनि २–४ घण्टाको फरकमा पानी रोकिँदै फेरि पर्दै गर्नेछ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै नवलपुरको डण्डामा १ सय १० मिलिमिटर वर्षा मापन भएको छ । त्यस क्षेत्रमा पर्ने नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।