एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने

अखिल नेपाल फुटबल संघ एन्फा भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ। एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको छ।

साथै अब नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका लागि नयाँ प्रशिक्षक आवश्यक भएको छ। त्यसका लागि प्रो(लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको एन्फाले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ।

नेपालले विश्वकप छनोट, एसियन कप छनोट जस्ता खेल खेल्नका लागि प्रो(लाइसेन्स प्राप्त कोच हुनुपर्ने भएकोले नेपालले फेरि विदेशी प्रशिक्षक नै ल्याउनुपर्ने भएको छ। नेपालमा अहिलेसम्म प्रो(लाइसेन्स प्राप्त प्रशिक्षक छैनन्।

तर नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय फुटबल खेल २०२५ मार्च अर्थात आगामी चैतमा रहेकोले तत्काल विदेशी प्रशिक्षक नियुक्त हुने सम्भावना कम छ। यस्तै नेपालले फिफा विन्डोमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका पनि छैन।

त्यसैले तत्कालका लागि नेपाली अस्थायी प्रशिक्षक नै राख्ने सम्भावना छ। एन्फा प्रवक्ता सुरेश शाहले प्रो(लाइसेन्स प्राप्त कोच नियुक्तिको प्रक्रिया अघि बढाउने र त्यसअघि नेपालकै अस्थायी प्रशिक्षक नियुक्त गरेर काम अघि बढाउने जानकारी दिए।

Leave A Reply

Your email address will not be published.