उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने बताउनुभएको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले सो जानकारी दिनुभएको हो।
मन्त्री भण्डारीले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताउनुभयो। उहाँले उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको पनि जानकारी दिनुभयो।
मन्त्री भण्डारीले बजारमा उच्च मागहरु हुने समयमा मूल्य अस्वभाविक रुपमा वृद्धि गर्नसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिइएको बताउनुभयो। उहाँले सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गर्ने बताउनुभयो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत स्थानीय तहहरुसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न ति वस्तुहरुको खरिद गर्ने व्यवस्था मिलाइएको बताउनुभयो।
मन्त्री भण्डारीले अहिलेको सरकारसँग धेरै अपेक्षा रहेको बताउनुभयो। अपेक्षा बढी हुनेसँग विरोध, असहमति र मागहरु बढी हुने बताउनुभयो। जायजपूर्ण मागहरुलाई, जनताका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभयो।