सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ। चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूलय वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै नागरिकलाई ठगिन नदिन एक्शन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको हो।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले चाडपर्व शुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट शुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिनुभयो। स्थानीय तहसँग समन्वय गरेर कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरुलाई कारबाहीस्को दायरामा ल्याउन आग्रह गर्नुभयो।
मुख्यसचिव अर्यालले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न पनि आग्रह गर्नुभयो। उहाँले जनतालाई सुशासन दिनुपर्ने, अपराधको नियन्त्रण र चाडपर्व र नेपालीहरु निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरा सरकारलाई सह्य नहुने बताउनुभयो।
प्रमुख जिल्ला अधिकारीहरुसँग चाडपर्वको बेलामा भएका अपराधिक गतिविधिहरुको रिपोर्ट प्रश्तुत गर्न पनि आग्रह गर्नुभयो। मुख्यसचिव अर्यालले सडकलाई खाल्डाखुल्डी रहित बनाउन, पहिरोहरु पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापना भन्दा १५ दिन अघिदेखि नै गाडीको टिकट खुलाउन निर्देशन दिनुभयो।
जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरुकोमा धाउने कामको अन्त्य गर्न पनि आग्रह गर्नुभयो।