आईसीसी विश्वकप लिग–२ : नेपालको लगातार तेस्रो हार

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो। सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए। क्यानडाका लागि कलिम सानाले ३ विकेट लिए।

यसअघिका खेलमा नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो। त्रिदेशीय श्रृङ्खलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ। ८ टोलीको सहभागिता रहेको लिग-२ मा यो जितपछि क्यानडा १४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ।

नेदरल्यान्ड्स १२ अङ्कका साथ दोस्रो स्थानमा छ। २ अङकका साथ नेपाल अङ्कतालिकाको पुछारबाट दोस्रोमा छ। छैटौँ स्थानमा रहेको ओमानको ५ अङ्क छ।

Leave A Reply

Your email address will not be published.