१७ वर्षमूनीको साफ च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपालले भारतसँग खेल्दैछ। खेल भुटानको थिम्पुमा रहेको चङ्लिमिथाङ रङ्गशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ।
समूह चरणको तीन खेलमा दुई जीत र एक हारसहित नेपाल समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० गोलले पराजित हुँदा नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ४-० गोलले र तेस्रो खेलमा घरेलु टोली भुटानलाई २-१ गोलले हराएको हो।
यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै अन्तिम चारमा पुग्यो। उसले फाइनलमा पुग्न समूह ‘ए’ को उपविजेता बङ्गलादेशसँग खेल्नेछ। यो खेल बेलुका पौने ६ बजे शुर हुनेछ। फाइनल खेल पर्सि हुनेछ।