बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रेपलाञ्चोक -गत साताको भारी वर्षा र बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ ।

काभ्रेपलाञ्चोक गत साताको भारी वर्षा र बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाईंले जनाएको छ । अविरल वर्षाका कारण बाढिपहिरो आएदेखि विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म क्षतिग्रस्त विद्यालयबाट पठनपाठन नगराइने सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् ।
बिज्ञापन

इकाईं प्रमुख देवकी ढकालले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा १४, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालयमा क्षति पुगेको जानकारी दिइन् । इकाईंका अनुसार बाढीपहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेलमा एकजना विद्यार्थीको मृत्यु भएको छ । इकाईं प्रमुख ढकालले जिल्लाका क्षतिग्रस्त विद्यालय के–कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे सरोकार भएका निकायसँग समन्वय गरेर मात्र निर्क्योलमा पुगिने बताइन् ।

बाढीपहिरोले क्षति पुर्‍याएको जिल्लाको दुई स्थानीय तह नमोबुद्ध नगर र महाभारत गाउँपालिकाको विद्यालयमा पुगेको क्षतिको विवरण आइनपुगेको ढकालले जानकारी दिइन्। सडक अवरुद्ध भएको तथा विद्युत् सञ्चालनमा नआएकाले ती तहका विद्यालयमा के–कति क्षति भयो भन्नेबारे यकिन विवरण संकलन गर्न नसकिएको उनले बताइन् । सरकारले शुक्रबार तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा पछिल्लो विवरणानुसार बाढीपहिरोमा परी ७२ जनाले ज्यान गुमाएका छन् । पाँच जना अझै बेपत्ता छन्भने ७५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिला रहेका छन् । सोबाहेक घटनामा हालसम्म ३१ महिला, २५ पुरुष, आठ बालक र छ बालिकाको मृत्यु भएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहलेसमेत राहत रकम घोषणा गरेका छन् । बाढीपहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै भएको अवरुद्ध छभने प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.