पाटन प्रिमियर लिग:किम्तोली र पाटन भ्याली विजयी

बैतडी-बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको दोस्रो दिन आज दुई खेल सम्पन्न भएका छन्। जसमा किम्तोली क्रिकेट क्लब र पाटन भ्याली क्रिकेट क्लब विजयी भएका छन्।

पहिलो खेलमा किम्तोलीले नवजागृती क्रिकेट क्लबलाई ३६ रनले हरायो। जितका लागि १९१ रनको लक्ष्य पछ्याएको नवजागृतीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो।
उसका विक्रम पाण्डेयले ८६ रनको पारी खेलेपनि टोलीलाई जिताउन सकेनन्। किम्तोलीका लागि सन्तोष चन्दले ५ विकेट हात पारे। सन्तोष प्लेयर अफ द म्याच समेत चुनिए।

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको किम्तोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १९० रन बनायो । जसमा प्रकाश बुडालले ६४ रनको योगदान गरे । नवजागृतिका सचिन विकले ३ विकेट झारे।

दोस्रो खेलमा पाटन भ्यालीले सहस्त्रीलिङ्ग क्रिकेट क्लबलाई ८ विकेटले स्तब्ध पार्यो। सहस्त्रीलिङ्गले दिएको १३६ रनको लक्ष्य भ्यालीले ११.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

जसमा राहुल भण्डारीले अविजित ५१ रनको पारी खेले । राहुल खेलका म्यान अफ द म्याच समेत चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

यसअघि पहिला ब्याटिङमा उत्रिएको सहस्त्रीलिङ्ग १७.४ ओभरमा १३५ रनमा समेटियो। उसका अरूण प्रसाद दानीले ४० तथा निखिल चन्दले ३४ रन हिर्काए।भ्यालीका सन्दीप खत्रीले ४ विकेट चट्काए।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ।प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल)क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ)  र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.