बैतडीमा अटो दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका ३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो शुक्रबार दिउँसो साढे १२ बजेतिर दुर्घटनामा परेको हो। अटो अनियन्त्रित भएर सडकबाट १०० मिटर तल खसेको छ।
सिल्लेगडाबाट खोचलेक तर्फ गइरहेको अटो दुर्घटना हुँदा एक जना गर्भवती महिला सहित चार जना घाइते भएका छन। अटो दुर्घटना हुदा दोगडाकेदर गाउँपालिका २ की २५ बर्षिया पार्वती जोशी, सोही ठाउँकी ४५ बर्षिया बसन्ती जोशी, सोही ठाउँका २५ बर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका ९ का २० बर्षीया हिरा सार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।
घाइतेहरु मध्ये पार्वती जोशी गर्भवती रहेकी खुल्न आएको छ। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ। अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका ९ का २२ बर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए।