बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेलहरू सम्पन्न भएका छन्। सुपर सिक्सका खेलबाट चारवटा टिमहरू सेमिफाइनलमा प्रवेश गरेका छन्।
आज सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा पञ्चेश्वर गाउँपालिकाको टोली लगातार दोस्रो उत्कृष्ट जितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा सुरक्षित हुने क्रममा पञ्चेश्वरले कुलगडे क्रिकेट क्लबमाथि २२४ रनको शानदार जित निकाल्यो।
पञ्चेश्वरले दिएको ३०० रनको विशाल लक्ष्य पछ्याएको कुलगडे १२.५ ओभरमा ७५ रनमा समेटियो। जसमा विवेक चन्दले ३९ रन हिर्काएपछि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पञ्चेश्वरका हिक्मत महराले ४, भोजराज भट्ट र दिनेश महराले २-२ विकेट हात पारे ।
यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २९९ रन बनायो। जसमा वसन्त कार्कीले शतकीय पारी खेल्दै १४५ रनमा अविजित रहे। वसन्तले हिर्काएको १४५ रन पाटन प्रिमियर लिगको इतिहासकै दोस्रो व्यक्तिगत उच्च स्कोर हो।
यसअघि पञ्चेश्वरकै अभिषेक पालको १६५ रन हिर्काउने कीर्तिमान बनाएको छ। आजको खेलमा अभिशेकले २८,विरेन्द्र नाथले २१,सुनिल चन्द ३३, नरेश चन्दले ३८ रन जोडे। कुलगडेका सुरज ठगु्न्नाले २ विकेट लिए। पञ्चेश्वरकै समूहबाट आयोजक पाटन क्रिकेट क्लब उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको छ।
सेमिफाइनलका खेलहरू मंगलबार हुनेछन्। पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ। प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ। यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो।