यसपालिको तिहार सकियो, अब छठ पर्वको तयारी शुरु

यसपालिको तिहार पर्व सकिएको छ। हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो। हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए। यस्तै दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए। भाइटिकासँगै झिलिमिली पर्व तिहार सकिएको छ।

यसैबीच तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ। काठमाण्डौसहित तराईरमधेसका जिल्लामा छठको तयारी शुरु भएको हो। गुह्येश्वरी मन्दिरमुनिको बाग्मती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ। विशेषगरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिईन्छ। यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन्।

छठमा प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुलालगायत किनमेलका लागि जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा चहलपहल बढेको छ। लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ।

तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेहरुको भीडभाड छ। खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन्। अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्।

घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन्। छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ। केही भारतीय नागरिकसमेत नेपाली बजारमा छठका लागि माटोका भाँडो बिक्रि गर्न आउन थालेका छन्।

Leave A Reply

Your email address will not be published.