आज सामान्य वर्षाको सम्भावना

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसहित पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले केही ठाउँमा बदलीसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ। अहिले पहाडी भू–भागका केही ठाउँमा बदली र तराईका केही ठाउँमा हुस्सु लागेको छ। बाँकी ठाउँको मौसम सफा छ।

यसैबीच आज पनि काठमाण्डौ उपत्यका सहितका शहरी क्षेत्र र तराईको वायु प्रदुषण उच्च रहेको छ। हिजोको तुलनामा केही कम भए पनि प्रदुषण उच्च रहेको वातावरण विभाग अन्तर्गतका मापन केन्द्रहरुले जनाएका छन्।

काठमाण्डौको रत्नपार्कमा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५२ रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले एक्यूआई एक सय ५० भन्दा माथि पुग्नुलाई अस्वस्थ मानेको छ। भक्तपुर, खुमलटार, चितवनको भरतपुर लगायतको ठाउँका मापन केन्द्रहरुले पनि एक्यूआई एक सय ३० देखि एक सय ५० को बीचमा देखाएका छन्।

हावामा रहेका प्रदुषणका कण श्वासप्रश्वास र आँखा हुँदै शरिरमा प्रवेश गर्ने भएकोले घरबाहिर निस्कँदा अनिवार्य मास्क र चस्मा लगाउन स्वास्थ्यकर्मीको सुझाव छ।

Leave A Reply

Your email address will not be published.