नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही १५ मंसिरदेखि हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तिब्र पारिएको छ। एनपीएलको मिति नजिकिएसंगै खेलहरु हुने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई धमाधम स्तरोन्नति गर्दै सिंगारिन थालिएको छ।
खेलाडी र खेल हेर्ने दर्शकका लागि नयाँपन महसुस हुने गरी मैदान स्तरोन्नति काम भइरहेको हो। मैदान स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो। क्यानले मैदानलाई नयाँ स्वरूप तथा मुहार फेर्दै विस्तार गरिरहेको छ।
आठवटा नयाँ पिच
एनपिएलमा नयाँ आठवटा पिच प्रयोगमा ल्याइनेछ। क्यानले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को खेलपछि पुरोना पिच भत्काएर नयाँ बनाएको हो। बंगलादेशी एक्सपर्ट क्युरेटरको सहायतामा ८ वटा पिच निर्माण गरिएका हुन्
मैदानमा डिजिटल स्कोर बोर्ड
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार राष्ट्रिय खेलकुद परिषद् राखेपको समन्वयमा मैदानमा स्कोर बोर्ड जडान गरेको छ। मैदानमा डिजिटल स्कोर बोर्ड नहुँदा दर्शकले समस्या भोग्दै आएका थिए । मैदानको पूर्वतिर दुईतले भवनमाथि स्कोर बोर्ड जडान गरिएको छ। नेपालमै पहिलोपटक क्रिकेटको डिजिटल स्कोरबोर्ड जडान भएको क्यानको दाबी छ ।
दर्शक बस्ने चार क्षेत्र विभाजन र एकहजार अस्थायी प्यारापिट
यसपटकदेखि दर्शक बस्ने स्थानलाई चार क्षेत्रमा विभाजन गरी टिकट निर्धारणसमेतको तयारी छ। एनपिएलमा अस्थायी भिआइपी र एक हजार सिट अस्थायी प्यारापिटमा हुनेछ । क्यानले यसपटकदेखि मिडिया जोन परिवर्तन गरेको छ। यसअघिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मिडिया बस्ने जोनलाई क्यानले भिभिआइपी क्षेत्र बनाएको छ । यसअघि भीभीआईपी बस्ने ठाउँमा अब मिडिया बक्स रहनेछ।
प्रिम्याच र पोस्ट म्याच गर्ने उचित स्थान नभएका कारण नै क्यानले मिडिया जोन परिवर्तन गरेको हो। भिभिआइपी बस्ने स्थानमा एसी जडान गरिएको छ। मैदानको उत्तरतर्फको भवनलाई भिभिआइपी स्थान बनाएको क्यानका सचिव पारस खड्काले बताउनुभयो।
इन्डोर र आउट डोर अभ्यासस्थल सुधार
क्यानले एनपिएलकै लागि फुड इन्स्टल राख्ने योजना बनाएको छ। इन्डोर र आउट डोर अभ्यास स्थल सुधार गरिएको छ। गत फ्रेबु्रअरीपछि त्रिवि मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल तालिका रहेन। यही अवधिमा क्यानले मैदानको पूर्वाधार र नयाँ संरचना बनाउन सुरु गरेको हो ।
मैदानको पूर्वपट्टि फ्रेन्चाइज टोलीका मालिक बस्ने स्थान बनाइँदै छ। स्कोर बोर्डनजिकै अम्पायर भवन रहेको छ। जसको छतमा भिभिआइपीको स्थान पनि बनाइएको छ। यसअघिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै मूल्यका टिकट खरिद गरी दर्शक मैदानका कुनै पनि भागमा बस्थे। अब एनपिएलमा दर्शकले यस्तो सुविधा पाउनेछैनन्।
जोनअनुसार मूल्य निर्धारण
क्यानले दर्शक बस्ने फरक जोन बनाएको र यसको मूल्यसमेत फरक हुनेछ। क्यानले सहजै खेल हेर्न मिल्ने चोभार एन्डका टिकटको मूल्य अरूभन्दा धेरै हुने जनाएको छ।
भिभिआइपीको एक हजार थान टिकट पनि रहनेछ । बाँकी दुई जोनका टिकटको मूल्य पनि फरक हुनेछ। क्यानले दर्शकका लागि अस्थायी र स्थायी बाथरुम पनि तयार गरिसकेको छ । महिला तथा पुरुषका लागि सहज बाथरुम सञ्चालनमा ल्याउने अन्तिम चरणमा पुगेको छ ।
फ्लडलाइट जडान हुन सकेन
त्रिविमा फ्लडलाइट जडानको काम भने अगाडी बढ्न सकेको छैन। फ्लडलाइट नहुँदा रातिमा खेल गराउन सकिएको छैन। गत ३१ असारमा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले ३०० दिनभित्र त्रिवि मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो ।
एनपीएलमा आठ टोली सहभागी हुँदैछन्। खेलको प्रत्यक्ष प्रशारण चर्चित भारतीय खेलकुद टिभी च्यानल स्टार स्पोट्सबाट हुनेछ।